सुदूरपश्चिमका मुख्यमन्त्री शाहलाई विश्वासको मत प्राप्त

बिहीबार, साउन ३१, २०८१

धनगढी - सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेश सभाबाट विश्वासको मत प्राप्त गर्नुभएको छ।

बंगलाचुली गाउँपालिका

साउन २० गते दोस्रो पटक मुख्यमन्त्री नियुक्त हुनुभएका उहाँले बुधबार सदनबाट विश्वासको मत पाउनुभएको हो। विश्वासको मतका लागि मुख्यमन्त्रीले राखेको प्रस्तावको पक्षमा ३६, विपक्षमा आठ मत परेको छ। त्यस्तै एक मत तटस्थमा परेको छ। ५३ जना प्रदेश सभा सदस्य रहेकोमा ४५ जनाले मात्रै मतदानमा भाग लिनुभएको थियो।

तत्कालीन मुख्यमन्त्री दीर्घबहादुर सोडारीले बहुमत जुटाउन नसकेर पदबाट राजीनामा दिएपछि संविधानको धारा १६८ को उपधारा ९२० बमोजिम शाह मुख्यमन्त्री नियुक्त हुनुभएको थियो। यसरी नियुक्त भएका मुख्यमन्त्रीले एक महिनाभित्रै विश्वासको मत लिनुपर्ने कानुनी प्रावधान रहेको छ।

५३ जना प्रदेश सभा सदस्य रहेका सुदूरपश्चिम प्रदेशमा बहुमत जुटाउनको लागि २७ जनाको समर्थन आवश्यक पर्ने गर्दछ। मुख्यमन्त्री शाहले सत्तारुढ दल कांग्रेसको १८, नेकपा ९एमाले० को ११ र नागरिक उन्मुक्ति पार्टीको सात गरी ३६ जनाका विश्वासको मत पाउनुभयो। कांग्रेसका शाह एमाले र नागरिक उन्मुक्तिको समर्थनमा दोस्रो पटक प्रदेशको मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो।

प्रदेश सभामा सम्बोधन गर्दै मुख्यमन्त्री शाहले विकासको पहिलो आधार राजनीतिक स्थिरता रहेको बताउनुभयो। राजनीतिक स्थायित्व, सुशासन र विकासका लागि नयाँ राजनीतिक सहमति भएको उहाँको भनाइ थियो।

मुख्यमन्त्री शाहले राजस्व सङ्कलनमा देखिएको समस्या समाधान भइसकेको जनाउँदै बजेटको समस्या पनि चाँडै निकास दिने प्रयासमा प्रदेश सरकार रहेको उल्लेख गर्नुभयो। “विनियोजन ऐन र आर्थिक ऐन पास गरेर चाँडै नै चालु र पुँजीगत खर्च अगाडि बढाउँछौँ”, उहाँले भन्नुभयो।

मुख्यमन्त्रीले आफूले भ्रष्टाचार नगर्ने र अरूलाई पनि गर्न नदिने प्रतिबद्धता जनाउनुभयो। उहाँले भ्रष्टाचार गर्नेलाई कारबाही गर्ने उल्लेख गर्नुभयो। उहाँले आफूले मुख्यमन्त्रीको रूपमा पहिलो कार्यकालमा नैतिकतामा रही प्रदेशको सर्वाङ्गीण विकासको लागि काम गरेको बताउनुभयो।  

 

प्रकाशित मिति: बिहीबार, साउन ३१, २०८१  ०७:०६
प्रतिक्रिया दिनुहोस्