परम्परागत ‘पापिनी’ मेलामा केटीकेटीबिच विवाह

बुधबार, माघ १७, २०८०

रुकुमपश्चिम - रुकुमपश्चिमको मुसीकोट नगरपालिका–७ को साँख गाउँको बिचमा रहेको छ, सुन्दर साँखदह । दहले छुट्याएको छ माथिगाउँ र तलिगाउँ । यस वर्ष माथिगाउँले तलिगाउँसँग दुलही माग्यो र विहेवारी भयो । अघिल्लो वर्ष तलिगाउँले दुलही अन्माएको थियो ।

बंगलाचुली गाउँपालिका

रीत अनुसार बेहुली माग्ने, जन्ती जाने, बेहुली लिएर फर्कने, धुमधाम भोतभतेर गर्ने र मेला भर्नेकाम तीन दिनसम्म धुमधामका साथ हुन्छ, साँख गाउँमा । यसरी नै चलिआएको छ परम्परागत ‘पापिनी मेला’ । यहाँ हरेक वर्षको माघ १४ गते साँझ दुलही माग्न जाने र १५ गते साँझ बाजागाजासहित धुमधामका साथ जन्ती लिएर दुलही लिन जाने र सोही दिन माइती पक्षले विवाह गरिदिएर छोरीलाई अन्माउने चलन रहेको छ ।
किंवदन्ती अनुसार कल्सुरो नामको राक्षसका कारणले गाउँमा विपत्ति भएको र राक्षसले रसरङ्ग खोजेकाले साँख दहमा मेला लगाई केटीकेटीबिच बिहे गरी सिमलनाथको पुजाअर्चना गरेपछि विपत्ति हटेको भन्ने परम्परा रहेकाले योे मेला लाग्दै आएको छ ।

पापीनी-मेला’-मा-2-1706702284.jpg
 

संस्कार धान्ने कन्या ‘पापिनी’
‘पापिनी मेला’ अन्तर्गतको नक्कली बिहेका बेहुला बेहुली दुवै किशोरी हुन् । किशोरीलाई नै बेहुला र बेहुलीका रुपमा श्रृङ्गारेर चलिआएको रीत अनुसार बिहे सम्पन्न गरिन्छ । वडाध्यक्ष एक्कबहादुर पाण्डेले तीन दिन लगाएर सम्पूर्ण विधि–प्रक्रिया अनुसार धुमधामले गरिने बिहे भने ‘नक्कली’ भएको बताउनुभयो । बिहेमा बेहुला र बेहुली पनि नक्कली नै हुन्छन् । दुवै गाउँका केटीलाई बेहुला र बेहुलीको भूमिकामा राखिन्छ । दुबै पक्षका अभिभावक, बिहे गर्ने र गराउने जन्ती जाने, भोजभतेरमा सहभागी हुने सबै अविवाहित कन्या मात्र हुन्छन् । यीनै कन्यालाई ‘पापिनी’को संज्ञा दिइएको हुन्छ ।

परम्परा चलाउने कन्यालाई भने ‘पापिनी’को नाम दिइएको वडा अध्यक्ष पाण्डेले उल्लेख गर्नुभयो । ‘पापीनी’ हुनका लागि जनजाति समुदायको, बिहे नगरेको र नाच्न जान्ने गरेर तीन वटा योग्यता तोकिएको हुन्छ । वडा अध्यक्ष पाण्डेले भन्नुभयो, ‘‘गाउँको चालचलन धान्ने कन्या ‘पापिनी’ हुनुपरेको छ ।’ पुर्खौदेखि चलिआएको यो चलनको भरथेग गर्ने कन्यालाई ‘पापिनी’ किन भनियो भन्ने प्रश्न अनुत्तरित छ । 

पापीनी-मेला’-मा-3-1706702351.jpg
 

यो संस्कार रहर वा बाध्यताभन्दा पनि परम्परा भएको स्थानीय अगुवा लालबहादुर महतले बताउनुभयो । साँखमा मानवबस्ती सुरुभएदेखि नै साँखदहमा नाटकीय विवाह गर्ने चलन सुरु भएको किंवदन्ती छ । महतका अनुसार हरेक वर्ष नाटकीय विवाह र नाचगान नगर्दा गाउँमा मान्छे मर्छन् भन्ने जनविश्वास छ । हरेक वर्ष साँखका दुई गाउँले पापीनी तयार गर्छन् र परम्परा चलाउँछन् ।

सिस्नोले हान्ने र जरिवाना तिराउने
यो मेलामा सिस्नोले हान्ने र जरिवाना तिराउने अर्को परम्परा पनि रहेको छ । ‘पापिनी’ अगुवाको निर्देशन र पहलमा माघ १ गतेदेखि नै साँख दहको डिलमा थला बस्न सुरु गरिन्छ । तलीगाउँकी पापिनी दहको तल्लो डिल र माथिगाउँकी पापिनी माथिल्लो डिलमा हरेक राति बस्ने गर्छन् । यसबेला आगो बाल्ने, सिस्नो खेल्ने र नाच्ने काम गर्ने चलन रहेको छ ।

कन्याहरु गाउँ प्रवेश गर्ने चारैतिरका नाकामा बस्छन् । मेला हेर्न आउने मान्छेहरूलाई समातेर सिस्नोले हान्न थाल्छन् । त्यसरी समातिने तन्नेरी पापिनिहरुलाई उछिनेर भागेर जान नसके जरिवाना तिरेर जान पाउँछन् । जरिवानाको रकम उक्त बिहेको व्यवस्थापन खर्चमा प्रयोग गरिन्छ । उक्त मेलालाई संरक्षण तथा प्रवर्द्धन गर्ने हेतुले यसपटक हाम्रो सरोकार समाजले आयोजकको भूमिका निर्वाह गरेको छ । मेलामा विभिन्न सांस्कृतिक र खेलकुदका कार्यक्रमहरु राखिएको छ ।

पापीनी-मेला’-मा4-1706702461.jpg
 

प्रकाशित मिति: बुधबार, माघ १७, २०८०  १७:४८
प्रतिक्रिया दिनुहोस्