यो हप्तामा ९५ अर्ब ७३ करोड रुपैयाँको शेयर किनबेच,लगानी गर्दा ध्यान दिन विज्ञको सुझाव

शुक्रबार, साउन १८, २०८१

दाङ - यो साता ९५ अर्ब ७३ करोड ८३ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । अघिल्लो हप्ता ७३ अर्ब २३ करोड रुपेयाँ बराबरको शेयर किनबेच भएको थियो । यो हप्ताको पहिलो दिन आइतवार १५ अर्ब ६९ करोड ८० लाख, सोमवार १९ अर्ब ४४ करोड ३ लाख, मंगलवार १७ अर्ब १९ करोड ६० लाख र बुधवार अहिलेसम्मकै उच्च २१ अर्ब ९१ करोड ८८ लाख रुपैयाँको शेयर कारोबार भएको थियो ।

बंगलाचुली गाउँपालिका

शेयर कारोबार हुने हप्ताको अन्तिम दिन हिजो २१ अर्ब ७१ करोड ३४ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो । एक महिना नहुँदै शेयर बजार ७ सय अङ्कभन्दा धेरैले बढेको छ । एकै दिन १९ अर्ब रुपैयाँ भन्दा धेरैको कारोबार हुन थालेको छ । लगानी अनुसार लगानीकर्ताले दैनिक हजारदेखि लाखौँ र करोडौँ रुपैयाँ कमाइरहेका छन् ।

बजार बढेको बेला केही कमाई भए पनि लगानी गर्न नजान्दा विशेष गरेर नयाँ लगानीकर्ताको पैसा डुब्ने जोखिम धेरै हुन्छ । त्यसैले लगानी गर्नु पहिले सोचविचार गर्न विज्ञले आग्रह गर्दै आएका छन् । कमजोर आर्थिक अवस्था भएका कम्पनीको मूल्य पनि आकाशिएकाले यो स्वभाविक नभएको नेपाल धितोपत्र बोर्डका पूर्व कार्यकारी निर्देशक निरज गिरीको भनाइ छ ।

अहिले वित्तीय अवस्था ठिक नभएका, विभिन्न नियामक निकायले कारबाही गरेका र गर्न ठिक्क परेका कम्पनीको शेयर मूल्य पनि निकै बढेको छ । अलिअलि नाफा देखेर भएभरको सम्पत्ति शेयर बजारमा लगाउने अनि बजार घट्न थालेपछि धेरैको बिचल्ली भएको उदाहरण पनि छ । त्यसैले अहिले बजार बढिरहेको बेलामा साना, सोझा र नयाँ लगानीकर्ताले विशेष ध्यान दिनुपर्ने नेपाल धितोपत्र बोर्डका पूर्व कार्यकारी निर्देशक निरज गिरीको सुझाव छ ।

प्रकाशित मिति: शुक्रबार, साउन १८, २०८१  १५:३९
प्रतिक्रिया दिनुहोस्