कपुरकोटबाट एकै सिजनमा साढे २६ करोडको ताजा तरकारी बिक्रि

मंगलबार, माघ १६, २०८०

सल्यान - सल्यानको कपुरकोट क्षेत्रबाट एकै सिजनमा साढे २६ करोडको ताजा तरकारी बिक्री भएको छ ।

बंगलाचुली गाउँपालिका

बेमौसमी तरकारीका लागि प्रसिद्ध कपुरकोट गाउँपालिकाका विभिन्न क्षेत्रवाट असारदेखि मंसिरसम्मको अवधिमा कृषकले ४८ लाख ५७ हजार दुई सय ४६ किलो ताजा तरकारी तथा फलफूल बिक्रीबाट २६ करोड ६४ लाख ४९ हजार आठ सय ६१ रुपैयाँ कृषकले हात पारेका छन् ।

कपुरकोट क्षेत्रबाट सबैभन्दा धेरै टमाटर बिक्री भएको छ । जसमा १३ लाख ६९ हजार चार सय ७५ किलो टमाटर बिक्रीबाट कृषकले आठ करोड २३ लाख ८३ हजार ३८ रुपैयाँ आम्दानी गरेका छन् ।

२०७९र८० को झण्डै छ महिनामा यसक्षेत्रबाट १७ करोड २३ लाख १६ हजार पाँच सय ९० रुपैयाँको ४२ लाख नौ हजार ९२ किलो ताजा तरकारी, फलफूल र अदुवा विक्री भएको थियो । यस वर्ष गत वर्षको तुलनामा तरकारीको उत्पादन बढेको र मुल्य पनि राम्रो पाएको कृषि उपज बजार सञ्चालक समिति कपुरकोटले जनाएको छ ।

जिल्लाकै सबैभन्दा ठूलो कपुरकोटको तरकारी बजार असारदेखि मंसिरसम्म लाग्छ । कृषकले उत्पादन गरेका टमाटर, काउली, बन्दागोपी, भेडेखुर्सानी, सिमी, फर्सी, आलुलगायतका बेमौसमी तरकारीले यसपटक राम्रो बजार मुल्य पाएको कृषि उपज बजार सञ्चालक समिति कपुरकोटका अध्यक्ष तिलक शर्माले जानकारी दिनुभयो ।

विगतका वर्षहरुको तुलनामा यस वर्ष तरकारी उत्पादनमा र मुल्यमा पनि वृद्धि भएसँगै कृषक उत्साहित भएका छन् । नयाँ युगबोध दैनिकमा बुद्धि पुनले खबर लेख्नुभएको छ । 

प्रकाशित मिति: मंगलबार, माघ १६, २०८०  २०:०६
प्रतिक्रिया दिनुहोस्