सिमलताल दुर्घटना अपडेट : बस खोज्न प्रयोग गरिएको १९ किलोको चुम्बक त्रिशूलीमा हरायो

सिमलताल दुर्घटना अपडेट
आइतबार, साउन १३, २०८१

दाङ - चितवनको नारायणगढ–मुग्लिङ सडकखण्ड सिमलतालमा पहिरोसँगै बगेर त्रिशूली नदीमा खसेका दुईवटा बस खोज्न प्रयोग भएको एउटा १९ किलोको चुम्बक त्रिशूलीले बगाएको छ । गएको असार २८ गतेदेखि हराइरहेका दुई वटा बस र ती बसमा रहेका कतिपय यात्रुको अवस्था पत्ता लाग्न नसकेपछि भारतबाट मगाइएको दुईवटा चुम्बकको सहयोगमा हिजो पनि खोजी गरिएको थियो ।

बंगलाचुली गाउँपालिका

खोजी गर्ने क्रममा १९ किलोको चुम्बक त्रिशूलीले बगाएको सशस्त्र प्रहरी बल नेपालले जनाएको छ । सशस्त्र प्रहरीको विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारका सूचना अधिकारी, प्रहरी उपरीक्षक जनक पुरीका अनुसार हिजो एउटा १९ किलो र अर्को १४ किलोको चुम्बकले खोजी गरिएको थियो ।

नेपाल–भारतका संयुक्त सुरक्षा टोलीबाट अहिले पनि खोजी कार्य निरन्तर भइरहेको छ । गएको आइतवारदेखि सशस्त्र प्रहरी बल नेपालको गोताखोरसहित छिमेकी भारतको राष्ट्रिय आपदा मोचन बल ९नेसनल डिजास्टर रेस्पोन्स फोर्स० बाट आएका १२ जनाको प्राविधिक टोलीले संयुक्त रूपमा बस र यात्रुको खोजी गर्दै आएका छन् ।

वीरगञ्जबाट काठमाण्डौका लागि छुटेको एञ्जल डिलक्स र काठमाण्डौबाट गौर जाँदै गरेको गणपति डिलक्स बस असार २८ गते शुक्रवार बिहान सिमलतालमा खसेको पहिरोसँगै बगेर त्रिशूली नदीमा बेपत्ता भएका हुन् । ती बसमा रहेका ६५ जनामध्ये तीनजना सकुशल निस्किएका थिए भने ६२ जना बेपत्ता भएकोमा अहिलेसम्म विभिन्न ठाउँबाट २४ जनाको शव फेला पारिएको छ । दुई बस र अरू यात्रुको अवस्था पत्ता लाग्न सकेको छैन । घटनाको १६ दिन बितिसकेको छ ।
 

प्रकाशित मिति: आइतबार, साउन १३, २०८१  ०७:५४
प्रतिक्रिया दिनुहोस्