आज साउनको पहिलो सोमबार : पशुपतिमा भक्तजनको भीड

सोमबार, साउन ७, २०८१

दाङ : आज २०८१ साल साउन ७ गते सोमबार तदनुसार सन् २०२४ जुलाई २२ तारिख। साउन कृष्ण पक्षको प्रतिपदा तिथि। यो वर्षको साउनको पहिलो सोमबार। पशुपतिनाथ मन्दिरमासहित देशभरका शिवालयमा भक्तजनको भीड लाग्ने गर्दछ।

बंगलाचुली गाउँपालिका

हिन्दु महिलाहरुले साउने सोमबारलाई विशेष धार्मिक दिनका रुपमा लिने गर्दछन्। साउने सोमबारका दिन निराहार ब्रत बसी शिवजीको पूजा अराधना गर्दा मनोकांक्षा पूरा हुन्छ भन्ने धार्मिक विश्वास छ।

साउने सोमबारमा शिवजीको पूजा उपासना गर्नाले आफू र आफ्नो परिवारको सुस्वास्थ्य, दीर्घायु र घर परिवारमा सुख शान्ति छाउने धार्मिक विश्वास छ।

हिन्दु धर्मग्रन्थ अनुसार भगवान शिवलाई सोमबारको स्वामी भनिन्छ। त्यसैले यो दिनलाई विशेष दिनका रुपमा लिइन्छ।

साउने सोमबारको दिन मनोकामना पूरा हुने विश्वासका साथ भगवान शिवलाई जल र बेलपत्र चढाँउने गरिन्छ। हिन्दू धर्ममा साउनलाई धर्मकर्मको महिना भनिन्छ।

साउन ७ गते सोमबार सौर र चान्द्रमास दुवैअनुसार पहिलो सोमबार परेको छ।  साउन महिना भगवान् शिवको महिना र सोमबार भगवान् शिवजीको बार भएकाले व्रत बस्ने परम्परा छ। यस दिन विशेषरुपमा आशुतोष भगवान् शिवको पूजा, आराधना गरिन्छ।

नेपालमा सौरमास अनुसारका सोमबार नै व्रत गर्ने परम्परा रहेको समितिको पूर्वअध्यक्षसमेत रहनुभएका धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले बताए। पशुपतिनाथ मन्दिरमा भने चान्द्रमास र सौरमास दुवै अनुसारका साउनको सोमबारका दिनमा भक्तजनको भीड लाग्छ।

पशुपति क्षेत्रमा साउने सोमबारका लागि सबै तयारी गरिएको पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीले राससलाई जानकारी दिए।

साउनको सोमबार पशुपतिनाथमा आउने भक्तजनका लागि तीन वटा लामको व्यवस्था गरिएको छ। उमाकुण्ड, जयवागेश्वरी र पिङ्गलस्थानबाट प्रवेश गरी दर्शन गर्न सकिने गरी व्यवस्था मिलाइएको उनले जानकारी दिए। पशुपतिनाका चारै ढोका सोमबार बिहान साढे तीन बजेदेखि नै भक्तजनका लागि खुला गरिने भएको छ।

साउनको सोमबार पशुपति क्षेत्रमा ११ संस्थाका स्वयंसेवक खटाइएको छ। विभिन्न संस्थाले स्वास्थ्य शिविर, निःशुल्क भोजन, खोजखबरको कक्ष पनि सञ्चालन गर्न लागेका छन्। साउनको सोमबार पशुपति क्षेत्रमा सुरक्षा व्यवस्था कडा बनाइएको छ। साउनको शनिबार र सोमबार पशुपतिनाथ मन्दिरमा हजारौँ भक्तजनको भीड लाग्ने गर्छ।

साउन महिनामा पशुपतिनाथ मन्दिरमा सुन्दरीजलबाट बोल बम यात्रा गरी जल चढाउने भक्तजनको पनि भीड लाग्ने गर्छ। बोल बम यात्रा गरी सुन्दरीजलबाट शुद्ध जल ल्याएर पशुपतिनाथमा चढाउने भक्तजन पनि साउनमा लाखौँ हुने गरेका छन्।

साउन महिनाको सोमबारका दिनमा पशुपतिनाथसँगै काठमाडौँ उपत्यकाका साथै देशभरका शिवालयमा आशुतोष भगवाने शिवको पूजा, आराधना गर्न भक्तजनको भीड लाग्ने गर्छ। साउनको पहिलो सोमबारदेखि अन्तिम सोमबारसम्म व्रत गरेका भक्तजनले अन्तिम दिनमा गोदान एवं पूर्णपात्रदान गरी व्रत समापन गर्ने विधि छ।

व्रत महिमा

पुराणमा मुख्य तीनथरि व्रतको चर्चा पाइन्छ। ती हुन्- साउने सोमबार, सोर्‍ह सोमबार एवं सोम प्रदोष। सोमबारको व्रत विधि पनि अन्य व्रतजस्तै हुन्छ। यो व्रत सूर्योदयदेखि प्रारम्भ भएर तेस्रो प्रहरसम्म बसिन्छ।

दिनको तेस्रो प्रहर अर्थात् करिब तीन बजेतिर शिवजीको पूजा गरी कथा सुन्नुपर्छ। व्रत गरेको दिन बेलुका एकपटक सात्विक भोजन गर्नुपर्छ। यसरी व्रत बस्दा समस्या समाधान हुने जनविश्वास छ।

शास्त्रअनुसार भगवान् शिवले सनतकुमारहरूलाई साउन महिनाको महिमा बताउने क्रममा भनेका छन्- मेरा तीन आँखामध्ये दाहिने आँखा सूर्य, बायाँ आँखा चन्द्रमा तथा बीचको आँखा अग्नि हुन्।

सोमबारका दिन काठमाडौंको पशुपतिनाथ, ललितपुरको कुम्भेश्वर, खोटाङको हलेसी महादेव, धरानको पिण्डेश्वर महादेव लगायत देशभरका शिवालयहरुमा भक्तजनको घुँइचो लाग्ने गरेको छ।

प्रकाशित मिति: सोमबार, साउन ७, २०८१  ०७:१५
प्रतिक्रिया दिनुहोस्