आज लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा अत्यधिक वर्षाको सम्भावना

आइतबार, साउन ६, २०८१

दाङ - पछिल्लो तीन घण्टामा सिन्धुपाल्चोकको ढुङ्गे, गोबरे, गुम्थाङ, भोताङ र आसपासमा अत्याधिक पानी परेको छ । अत्यधिक वर्षाका कारण मेलम्ची र इन्द्रावती लगायतका अन्य सहायक खोलामा बाढीको जोखिम रहेकोले सावधानी अपनाउन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।

बंगलाचुली गाउँपालिका

बाढीसँगै धेरै पानी परेको क्षेत्रमा पहिरोकोसमेत जोखिम हुने भएकोले सावधानी अपनाउन महाशाखाको अनुरोध छ । यसैबीच आज दिउँसो गण्डकी र लुम्बिनी प्रदेशको एक दुई ठाउँमा अत्यधिक वर्षाको सम्भावना रहेको छ । देशभर सामान्यतया बदली रहेर कोशी र बागमती प्रदेशका पहाडी भू–भाग लगायत गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा सामान्यदेखि मध्ययम तथा गण्डकी र लुम्बिनी प्रदेशको एक/दुई ठाउँमा अत्यधिक वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यसैबीच यो वर्षको मनसुन अवधिमा विपत्तिमा परेर हिजोसम्म एक सय २८ जनाको ज्यान गएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार मनसुन शुरु भएको दिन गएको जेठ २८ गतेदेखि हिजोसम्मको ४२ दिनमा बाढी, पहिरोलगायत विपदमापरी एक सय २८ जनाको ज्यान गएको र एक सय ४३ जना घाइते भएका छन् ।

बाढीका कारण एक सय ८२ घर डुबानमा परेका तथा दुई सय २८ वटा घर, ८३ वटा गोठ, ४३ वटा पुल, एक विद्यालय र दुईवटा सरकारी कार्यालयमा क्षति पुगेको छ । विपदमा परी पाँच सय ८९ वटा पशुचौपाया मरेका छन् । विपदका घटनाबाट तीन हजार सात सय ७९ घरपरिवार विस्थापित भएका प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिनुभयो । 

प्रकाशित मिति: आइतबार, साउन ६, २०८१  ०७:२२
प्रतिक्रिया दिनुहोस्