बङ्गलादेशबाट आठसय विद्यार्थी फर्के, अनलाइन निवेदन दिन आग्रह

आइतबार, साउन ६, २०८१

काठमाडौं - बङ्गलादेशमा विकसित पछिल्लो घटनाक्रमका कारण समस्यामा परेका आठ सय विद्यार्थी नेपाल फर्केका छन् ।

बंगलाचुली गाउँपालिका

परराष्ट्र मन्त्रालयका शाखा अधिकृत महेश्वरमणि त्रिपाठीले सो जानकारी दिनु भएको हो । उहाँका अनुसार हालसम्म झण्डै ८०० नेपाली विद्यार्थी हवाई वा स्थलमार्ग हुँदै नेपाल आउन बंगलादेश छाडेका छन् ।

बंगलादेशका विभिन्न स्थानबाट ढाका विमानस्थल वा सम्बन्धित सीमा नाकाहरूमा सुरक्षित यात्राका लागि समन्वय गरिएको छ ।

 बंगलादेशमा कोटा प्रणालीको विरोधमा हिंसा भड्किएपछि तनाव सिर्जना भएको छ ।  नेपालले त्यहाँ अध्ययन गर्दै आएका नेपाली विद्यार्थीलाई ल्याउने प्रयास यसअघि नै सुरु गरेको छ ।

साथै परराष्ट्र मन्त्रालयले एक सूचना जारी गर्दै बङ्गलादेशमा रहनुभएका नेपाली विद्यार्थीहरू सम्बन्धमा अनलाइन निवेदन दिनुहुन अभिभावकसँग अनुरोध गरेको छ ।

जारी गरिएको सूचनामा भनिएको छ, ‘‘बङ्गलादेशमा विकसित पछिल्लो घटनाक्रमका कारण समस्यामा पर्नुभएका नेपाली विद्यार्थी तथा उहाँहरूका अभिभावक एवं आफन्तहरूले आवश्यक जानकारी, सहयोग र सहजीकरणका लागि यस मन्त्रालयले स्थापना गरेको देहायबमोजिमको लिङ्कमा अनलाईन निवेदन दिनुहुन अनुरोध छ । निवेदन नेपालबाट सम्बन्धित परिवारका सदस्यहरूले समेत दिन सक्नुहुनेछ ।’’

निवेदनका लागि निम्न लिङ्कमा जानुहोसः https://legal.nepalconsular.gov.np/passport

प्रकाशित मिति: आइतबार, साउन ६, २०८१  ०६:२५
प्रतिक्रिया दिनुहोस्