महिला एसिया कपमा नेपालले यूएईलाई ६ विकेटले हरायो

शुक्रबार, साउन ४, २०८१

दाङ - एसीसी महिला एसिया कप क्रिकेटको पहिलो खेलमा नेपालले यूएईमाथि ६ विकेटको शानदार जित निकालेको छ ।

बंगलाचुली गाउँपालिका

श्रीलङ्काकाे 'डांबुला स्टेडिएम'मा भएको  खेलमा नेपालविरुद्ध पहिला ब्याटिङ गरेको यूएईले दिएको ११६ रनको लक्ष्य नेपालले १७.१ ओभरमा ११८ रन बनाउँदै भेट्टाएको हो ।

नेपालको जितमा सम्झना खड्काले ४५ बलमा नटआउट ७२ रन बनाउनुभयो । उहाँले ११ चौकाको मद्दतमा शानदार अर्धशतक बनाउनुभएको हो । उहाँको यो अन्तर्राष्ट्रिय प्रतिस्पर्धाको पहिलो अर्धशतक हो ।

नेपालका लागि  रुविना क्षेत्रीले ८ बलमा १० रन जोड्दा कप्तान इन्दु बर्माले १० बलमा ६ रन जोड्नुभयाे । सीता रानामगर १७ बलको सामना गर्दै ७ रन जोडेर आउट हुँदा कविता कुँवरले २ रन जोड्नुभयो भने पुजा महतो ७ रनमा नटआउट रहनुभयो ।

यूएईले पूरै २० ओभर खेल्दै ८ विकेटको क्षतिमा ११५ रन बनाएको थियो । यूएईलाई सस्तैमा समेट्न नेपालका कप्तान इन्दु बर्माले तीन विकेट लिनुभयो । सबनम राई, कृतिका मरासिनी र कविता जोशीले एकएक विकेट हात पार्नुभयो ।

यूएईका लागि खुशी शर्माले सर्वाधिक ३६ रन बनाउनुभएको थियो। समूह ‘ए’को नेपालले अब समूह चरणमा भारत र पाकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ ।

प्रकाशित मिति: शुक्रबार, साउन ४, २०८१  १८:१०
प्रतिक्रिया दिनुहोस्