शहीदका बलिदानको ऋण तिर्न सकिँदैनः उपराष्ट्रपति यादव

मंगलबार, माघ १६, २०८०

काठमाडौँ - उपराष्ट्रपति रामसहायप्रसाद यादवले शहीदको सम्मानका लागि त्याग र आहुतिको स्मरण गर्दै समाजमा जागरुकता र चेतना फैलाउन जरुरी रहेको बताउनुभएको छ । शहीद दिवस, २०८० को अवसरमा शुभकामना सन्देश जारी गर्नुहुँदै उहाँले त्यसो गर्न सके मात्रै शहीदहरुले दिनुभएको बलिदानका कदर हुने बताउनुभयो । 

बंगलाचुली गाउँपालिका

अमर शहीदले दिएका बलिदानीको ऋण तिर्न नसकिने समेत उल्लेख गर्दै उपराष्ट्रपति यादवले वीर शहीदहरुको सपना र आकाङ्क्षा साकार पार्न सम्पूर्ण राजनीतिक दल, नागरिक समाजलगायत सबैले दृढ सङ्कल्प, उच्च अठोट, पवित्र मन, वचन र कर्मका साथ लाग्नुपर्नेमा जोड दिनुभयो । 

उपराष्ट्रपति यादवले महान् शहीदको बलिदानबाट प्राप्त उपलब्धिहरुको माध्यमबाट मुलुकको दिगो शान्ति, सुशासन, विकास, सबलीकरण, समृद्धिको आकाङ्क्षा पूरा गर्नुपर्ने बताउनुभयो । उहाँले नेपालजस्तो विविधतामा एकताको धनी र संस्कृति सम्पन्न मुलुकमा समय–समयमा कुनै न कुनै महापुरुषले जन्म लिई देशको सुरक्षा, लोकतन्त्र, समावेशिता र पहिचानका लागि आफ्नो ज्यानको आहुति दिएको स्मरण गर्नुभयो ।

उपराष्ट्रपति यादवले कुनै कारणबाट देशका महान् मार्गदर्शक, वीर सपुत र वीरङ्गनाहरु टाढिए पनि स्वाधीनता, अखण्डता, सार्वभौमिकता, सुरक्षाको महान् दायित्व सबै देशभक्तलाई सुम्पिएर गएको बताउनुभयो । 

शुभकामना सन्देशमा उपराष्ट्रपति यादवले नेपालको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता, स्वाधीनता, स्वाभिमान, नागरिक स्वतन्त्रता, जनताको सार्वभौम अधिकार, समावेशिता, समानता, सबैखाले विभेदको अन्त्य, लोकतन्त्रको स्थापना र पहिचानसहितको सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाका लागि आफ्नो अमूल्य जीवन उत्सर्ग गर्नुहुने सम्पूर्ण ज्ञात–अज्ञात महान् शहीदलाई स्मरण गर्नुभएको छ । 

काठमाडौँ  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रियता, जनतन्त्र र जनजीविकाको पक्षमा सङ्घर्ष गर्ने क्रममा बलिदान गर्ने शहीदहरू विगत, वर्तमान र भविष्यका निम्ति प्रेरणाका स्रोत र पथप्रदर्शक रहिरहने बताउनुभएको छ ।

शहीद दिवस २०८० का अवसरमा आज शुभकामना दिँदै उहाँले देश र जनताको मुक्ति एवं परिवर्तनका निम्ति शहीदले देखेका सपना र लिएको अठोटलाई शीरोधार्य गर्दै क्रान्तिका बाँकी कार्यभार पूरा गर्न सङ्कल्प गर्नुपर्ने बताउनुभएको छ ।प्रधानमन्त्री दाहालले शहीदको योगदानलाई सम्मान गर्दै उहाँहरूको योगदान र कृति चीरस्थायी तुल्याउने एवं शहीद परिवारको उचित सम्मान, संरक्षण र जीवनवृत्तिका निम्ति समर्पित हुने दिनका रूपमा शहीद दिवस रहिआएको बताउनुभयो । उहाँले भन्नुभयो, “यही यथार्थलाई आत्मसात् गर्दै सरकारले इतिहासका विभिन्न कालखण्डमा सहादत प्राप्त गर्ने सपुतलाई राष्ट्रिय शहीद घोषणा गर्दै उहाँहरूको सम्मान र परिवारको संरक्षण र अभिभावकत्वको पक्षलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको छ ।”

प्रधानमन्त्री दाहालले आफ्नो पहिचान र अधिकारका निम्ति विभिन्न वर्ग, जाति, क्षेत्र, लिङ्ग र समुदायको नेतृत्वमा भएका न्यायपूर्ण आन्दोलनको बलमा नै वर्तमान संविधान र लोकतान्त्रिक व्यवस्था प्राप्त भएको उल्लेख गर्दै वर्तमानमा प्राप्त उपलब्धिको रक्षा र सुदृढ गर्दै थप अधिकारका निम्ति समर्पित हुनु नै शहीदहरूप्रति सच्चा श्रद्धाञ्जलि हुने बताउनुभयो ।

उहाँले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र सुदृढीकरणसहित थप अधिकारका निम्ति कर्तव्यनिष्ठ भएर अगाडि बढ्न शहीद दिवसबाट प्रेरणा मिल्ने विश्वास व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री दाहालले मुलुकका निम्ति जीवन अर्पण गर्ने सहिदप्रति श्रद्धाञ्जलि अर्पण गर्दै सम्पूर्ण बेपत्ता योद्धाको उच्च सम्मान र घाइते योद्धाको शीघ्र स्वास्थ्यलाभसहित दीर्घजीवनको कामना गर्नुभएको छ । 

प्रकाशित मिति: मंगलबार, माघ १६, २०८०  ०७:३५
प्रतिक्रिया दिनुहोस्