लुम्बिनी प्रदेशलाई पूर्ण खोप सुनिश्चित प्रदेश घोषणाको तयारी

मंगलबार, साउन १, २०८१

दाङ - लुम्बिनी प्रदेशलाई पूर्ण खोप सुनिश्चित प्रदेश घोषणा गरिने भएको छ । लुम्बिनी प्रदेशका १२ वटै जिल्ला पूर्ण खोप सुनिश्चित घोषणा भइसकेको र अब प्रदेशलाई पूर्ण खोप सुनिश्चित घोषणा गर्न मात्रै बाँकी रहेको लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।अघिल्लो वर्ष लुम्बिनी प्रदेश पूर्ण खोप सुनिश्चित हुन नसके पनि यस वर्ष लुम्बिनी प्रदेश पूर्ण खोप सुनिश्चित हुन सफल भएको छ ।

बंगलाचुली गाउँपालिका

१६ महिनादेखि ५९ महिनासम्मका बालबालिकाले खोप लगाएको सुनिश्चित गरेपछि प्रदेश पूर्ण खोप सुनिश्चित भएको उल्लेख गरिएको छ । १६ महिनादेखि ५९ महिनासम्मका दुई लाख ६२ हजार आठ सय ५६ बालबालिकामध्ये दुई लाख ६० हजार तीन सय ८३ जना बालबालिकाले पूर्ण खोप पाएको लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयका सचिव डा.वासुदेव उपाध्यायले बताउनुभयो  ।

प्रदेशमा एक सय ३० जना बालबालिकाले एक पटक पनि खोप नलगाएको भेटिएको छ । यसरी खोप लगाउन छुटेका बालबालिकालाई यस वर्ष खोप दिइएको छ । यसका साथै बीचमा खोप लगाउन छुटेका तर यस वर्ष खोप लगाएका बालबालिकाको सङ्ख्या दुई हजार तीन सय ४३ जना रहेको छ । खोपमा ड्रप आउट बालबालिका धेरै भेटिएको मन्त्रालयले जनाएको छ । केही समुदायभित्र अझै पनि खोपप्रति नकारात्मक धारणा रहेकाले ती समुदायका बालबालिकाहरू खोप लगाउन छुटेको र ड्रप आउट हुने देखिएको मन्त्रालयले जनाएको छ ।

लुम्बिनी प्रदेशको बाँके जिल्लामा सबैभन्दा धेरै खोप लगाउन छुटेका बालबालिका भेटिएका छन् । बाँके जिल्लामा ८५ जना बालबालिकाले पहिलो पटक खोप लगाएका छन् । दाङमा १२ जना, प्युठानमा र कपिलवस्तुमा ११, रोल्पा र बर्दियामा चार-चार, अर्घाखाँची, पश्चिम नवलपरासीमा एक-एक जना छुटेका बालबालिकाले खोप लगाएका छन् । रुकुम पूर्व, गुल्मी, पाल्पा जिल्लामा खोप लगाउन छुटेका बालबालिका भेटिएका छैनन् । यस्तै खोपमा ड्रप आउट भएका बालबालिका बाँके र कपिलवस्तु जिल्लामा धेरै भेटिएका छन् । बाँकेमा आठ सय ५१ र कपिलवस्तुमा छ सय २६ जना छुटेका बालबालिकाले यसपालि खोप लगाएका छन् ।

 रुपन्देहीमा तीन सय २४, नवलपरासी पश्चिममा दुई सय १६, बर्दियामा एक सय ४९, दाङमा ७२, प्युठानमा ६७, रोल्पामा १५, गुल्मीमा १३, पाल्पामा छ, अर्घाखाँचीमा चारजना ड्रप आउट भएका बालबालिकाले खोप लगाएका छन् । रुकुम पूर्वमा भने ड्रप आउट भएका बालबालिका फेला नपरेको मन्त्रालयले जनाएको छ ।

 

प्रकाशित मिति: मंगलबार, साउन १, २०८१  १८:१९
प्रतिक्रिया दिनुहोस्