स्यालको टोकाइबाट १२ जना घाइते

शनिबार, माघ ६, २०८०

रौतहट -  स्यालको आक्रमणबाट रौतहटको गढीमाई नगरपालिका–७ मा १२ जना घाइते भएका छन् । खेतबारीमा घाँस काट्न गएका पालिकाको धनारी टोलका नौ वर्षीय बालकसहित १२ जना  स्यालको टोकाइबाट घाइते भएका हुन् । घाइतेमध्ये दुई महिलाको वीरगञ्जस्थित मेडिकल कलेजमा उपचार भइरहेको छ ।

बंगलाचुली गाउँपालिका

नजिकै रहेको उखुबारीमा बसेका पाँचरछ वटा स्यालको समूहले आक्रमण गर्दा नौ वर्षीय बालक श्रवणकुमार, वर्ष १५ की मनिषा खातुन, २७ वर्षका रामविनय बैठा, ३० वर्षीय बिनादेवी, वर्ष ३५ की दुखियादेवी, ४० वर्ष की जैयबुल खातुन, ५५ वर्ष की उषादेवी, ७२ वर्षीय सिकिलावा देवी, ६० वर्ष की तेतरी खातुन, ७० वर्षीय जयल मुखियालगायत घाइते हुनुभएको पालिका प्रमुख श्यामप्रसाद यादवले जानकारी दिनुभयो ।

यसैगरी, स्यालको टोकाइबाट घाइतेमध्ये जैयबुल र तेतरीको नाक र मुखमा गहिरो चोट भएकाले प्रादेशिक अस्पताल गौरमा प्राथमिक उपचार गरी थप उपचारका लागि शुक्रबार राती वीरगञ्जस्थित नेशनल मेडिकल कलेज पठाइएको । दुवै जना हाल उपचार मै रहनुभएको जिल्ला प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक एलिजा गिरीले जानकारी दिनुभयो ।

बाँकी घाइतेको उपचार प्रादेशिक अस्पताल गौरमा भई ‘एन्टिरेबिज भ्याक्सिन’ लगाएर घर फर्किएका छन् । अस्पताले दिएको समयअनुसार घाइतेहरू थप भ्याक्सिनको पुनः अस्पताल धाउनु पर्ने जानकारी ‘मेडिकल सुपरिटेन्डेन्ट’ कृष्ण साहले बताउनुभयो । स्यालले यसरी आक्रमण गर्दा स्थानीय घरबाट बाहिर निस्किन पनि डराएका छन् ।

प्रकाशित मिति: शनिबार, माघ ६, २०८०  १६:२७
प्रतिक्रिया दिनुहोस्